दैलेख : नारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनक प्रसाद न्यौपानेले बाल विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ‘गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र मन्दिरमा, थप गरौँ लगानी प्रारम्भिक बाल विकाशमा’ भन्ने नारा सहित सेतो गुराँस बाल विकास सेवा दैलेखले आयोजना गरेको वडा स्तरीय बाल विकास समिति गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
वडा अध्यक्ष न्यौपानेले वडामा गठन भएको समितिले उल्लेख्य काम गर्ने बताए । ‘स्थानीय सरकारको पहिलो दायित्व भनेको समाजको सामाजिक, भौतिक विकास गर्नु हो, समाज परिवर्तनका लागि सामाजिक विकास जरुरी हुन्छ, त्यसका लागि भविष्य बोकेका बालबालिकाको विकासमा ध्यान दिनु हो, उनले भने ।’,
उनले संघीय सरकारको रणनीति अनुसार स्थानीय सरकारका जनप्रतिनिधिहरूले काम गर्ने जनाए । बडा अध्यक्ष न्यौपानेले बालबालिकाको विकासका लागि समाजमा परिवर्तन आवश्यक रहेको बताए । उनले बालबालिकाको विकासका लागि वडाले राम्रा कामहरू गर्ने प्रतिवद्धता जनाए ।
समाज सुधार हुन केही समय लाग्ने भए पनि स्थानीय सरकारले अब भौतिक विकास भन्दा सामाजिक विकासमा ध्यान दिएर लाग्नुपर्ने धारणा राख्दै नारायण ६ ले यस्ता विषयमा सचेत रहेको बताए । समाजको विकासका लागि शिक्षा र सिकाइ महत्वपूर्ण हुने वडा अध्यक्ष न्यौपानेको भनाई थियो ।
बाल विकास सम्बन्धित कार्यक्रमहरू सेतो गुराँस बाल विकास सेवा दैलेखसँगको सहकार्यमा अगाडि बढाइने र यसका लागि आवश्यक पर्ने अन्य बिषयहरुमा वडाले प्रभावकारी काम गर्ने न्यौपानलेले बताए । वडा स्तरीय बाल विकास समितिको बैठक नियमित गरी बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान दिनु वडा सरकारको पहिलो दायित्व हुने न्यौपानेको भनाई छ ।
नेपालमा प्रारम्भिक बाल शिक्षा र विकासको सबलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजना अन्तर्गत वडा स्तरीय बाल विकास समिति गठन गरिएको सेतो गुराँस बाल विकास सेवा दैलेखका निर्देशक राधा मल्लले बताइन् । उनले नारायण नगरपालिकाका ११ वटै वडाहरूमा स्तरीय प्रारम्भिक बाल विकास समिति गठन गरिएको बताइन् ।
निर्देशक मल्लले प्रारम्भिक बाल्य अवस्थामा गरेको लगानी खेर नजाने भएकोले सहभागितात्मक योजना तर्जुमा चरणको देखि नै अभिभावकहरूको समेत उल्लेख्य सहभागितामा योजना बनाइ वडाको बजेट विनियोजन गर्दा प्राथमिकतामा पार्नुपर्ने आग्रह गरिन् ।
उनले बाल विकासको सुरुवात घरबाट हुने भएकाले यसमा बालबालिकाका परिवारको भूमिका महत्वपूर्ण हुने बताइन् । ‘बाल अवस्थामा सिकाइ महत्वपूर्ण हुन्छ, बालबालिकाको पहिलो पाठशाला भनेको उनीहरूको घर, परिवार हुन्, परिवारले बालबालिकालाई नयाँ कुरा सिकाउनतर्फ ध्यान दिनुपर्छ, निर्देशक मल्लले भनिन् ।’,
बालबालिकाको सर्वाङ्गीण विकासका लागि आमाहरूले गर्भ अवस्थामा पोषणयुक्त खानामा ध्यान दिनुपर्ने बताइन् । सामाजिक रूपमा बालबालिकाको सर्वाङ्गीण विकासमा लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरिन् ।
यस्तै, नगरपालिका–६ मा वडा स्तरीय प्रारम्भिक बाल विकास समिति गठन गरिएको छ । वडा वडाध्यक्ष जनक प्रसाद न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरीय प्रारम्भिक बाल विकास समिति सोमबार गठन गरिएको हो ।
समितिका सदस्यहरूमा कृष्णा रेग्मी, दुर्गा नेपाली, कृष्ण प्रसाद सुवेदी, कृष्ण बहादुर प्याकुरेल, पदम कुमारी बुढा, रत्ना कुमारी सार्की, बाबुराम आचार्य, असु नेपाली, दीपक सुवेदी, शेरबहादुर प्याकुरेल र सदस्य सचिवमा वडा सचिव प्रेम प्रसाद उपाध्यायलाई चयन गरिएको छ । नारायण नगरपालिकामा पर्ने ११ वटै वडाहरूमा वडा स्तरीय प्रारम्भिक बाल विकास समिति गठन गरिएको सेतो गुराँस बाल विकास सेवा दैलेखका निर्देशक राधा मल्ले बताइन् ।
उनले नगर प्रमुखको अध्यक्षतामा नगर स्तरीय प्रारम्भिक बाल विकास समिति गठन भइसकेको बताइन् ।
निर्देशक मल्लले कार्यक्रमको प्रमुख उद्देश्य बालबालिकाको सर्वाङ्गीण विकासका लागि गर्भावस्थादेखि ८ वर्षसम्मका सबै बालबालिकाहरूलाई उमेर अनुसार लक्षित एंम गुणस्तरीय सेवा एकीकृत रूपमा प्रदान गर्नु रहेको बताइन् । युवाहरुको भविष्य बिग्रदै गएकोअवस्थामा बाल्य कालदेखिनै बालवालिकाको बिषयमा चिन्तन गर्नुपर्ने सुझाव सहभागिहरुले दिएका छन् ।











